काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले किसानको समस्याप्रति गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्। उनले रोपाइँको मुख्य सिजनमा मलखादको चरम अभाव देखिएको भन्दै सरकारसँग तत्काल सुधारको माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रचण्डले भने, “किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको छ। यस्तो बेला सरकार जनताको पीडामा गम्भीर हुनुपर्छ।”

advertisement

उनका अनुसार, आफू नेतृत्वको सरकारले अघिल्लो वर्ष मल आपूर्तिका लागि ५ लाख ५० हजार टन मल ल्याउने लक्ष्यसहित २७ अर्ब ९७ करोड रुपैयाँ बजेट छुट्याएको थियो। तर अहिले असार सकिन लाग्दा पनि खेतमा मल पुग्न सकेको छैन।

“हालसम्म दुई लाख मेट्रिक टनभन्दा बढी मल आयात भएको देखिँदैन। भनिएको मल कहाँ गयो?” प्रचण्डले प्रश्न गरे।

मल वितरणमा शक्ति र पहुँचका आधारमा हुने पक्षपात तत्काल अन्त्य गर्नुपर्ने उनले स्पष्ट पारे। उखु किसानको बक्यौता अझै भुक्तानी नहुनु र कृषि अनुदान कटौती हुनु आपत्तिजनक रहेको भन्दै त्यसमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरे।

प्रचण्डले तराई–मधेसका किसानहरू पर्याप्त वर्षा नहुँदा गम्भीर संकटमा परेको उल्लेख गर्दै भने, “धानका बेर्ना सुकिरहेका छन्, रोपिएका बाली पनि मरिरहेका छन्। यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति पनि बन्द छ।”

अन्त्यमा उनले किसानलाई तत्काल कृषि मिटर उपलब्ध गराउन, विद्युत् आपूर्ति सुचारु गर्न, सिँचाइको व्यवस्था मिलाउन र आपत्कालीन राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com