काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा हालसम्म २० लाखभन्दा बढी नागरिकको हस्ताक्षर सङ्कलन भएको छ।
लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार हस्ताक्षर सङ्कलनको संख्या तीन दिनअघि नै २० लाख नाघेको हो। उनका अनुसार अभियान अझै जारी रहेकाले यो संख्या थप बढ्न सक्नेछ।
“अहिलेसम्म करिब २० लाखभन्दा धेरै हस्ताक्षर भइसकेको छ,” न्यौपानेले बताए, “अभियान निरन्तर जारी छ, सबै फारमहरू संकलन र अद्यावधिक गर्न केही समय लाग्छ।”
उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ। ‘कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा सङ्कलन भएका हुन्।’
अभियानका क्रममा हस्ताक्षरसँगै अहिलेसम्म स्वेच्छिक रूपमा चन्दास्वरूप ४४ लाख रुपैयाँ संकलन भएको जनाइएको छ। “यो कुनै जबरजस्ती होइन, हस्ताक्षर गर्नेहरूले स्वेच्छाले चन्दा दिएका हुन्,” न्यौपानेले स्पष्ट पारे, “अन्य दलले पनि चन्दा उठाउँछन्, हामीले गरेमा मात्रै आपत्ति किन?”
रास्वपाले हस्ताक्षर सङ्कलनलाई केही राजनीतिक समूहले ‘हतियार सङ्कलन’को रूपमा प्रचार गरिरहेकोप्रति आपत्ति जनाएको छ। “हामीले हस्ताक्षर सङ्कलन गरेका हौं, हतियार होइन,” न्यौपानेले भने, “यो अभियान न्याय माग्न जनताको आवाज हो, भ्रम फैलाउने काम नगर्न आग्रह गर्दछौं।”
उनले अदालतप्रति सम्मान रहेको स्पष्ट गर्दै लामिछाने अहिले भैरहवा कारागारमै रहेको तथ्यसमेत स्मरण गराए। रास्वपाले असार ९ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियानलाई कम्तीमा १०० दिनसम्म निरन्तर सञ्चालन गर्ने जनाएको छ।
यसअघि असार ७ गते, पार्टीको तेस्रो स्थापना दिवसमा कारागारबाट जारी २० पृष्ठ लामो अपिलमार्फत लामिछानेले नै हस्ताक्षर अभियानको आह्वान गरेका थिए। रास्वपाका अनुसार यो अभियान सरकारको ‘राजनीतिक प्रतिशोध’को विरोधमा जनमत सङ्ग्रहकै रूपमा अघि बढाइएको हो।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया