काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घूस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पदबाट हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा कांग्रेस बुद्धिजीवी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले गम्भीर आरोपमा तानिएका मन्त्री गुप्ताले यदि निर्दोष हो भन्ने विश्वास छ भने तत्काल राजीनामा दिएर छानबिनको मार्ग खुला गर्नुपर्ने बताएका हुन्।
“गल्ती गरेको छैन भन्ने साहस छैन, छानबिन होस् भन्ने तयारी पनि छैन,” उनले भने, “मलाई लाग्थ्यो, प्रधानमन्त्रीले यस्तो विषयमा स्वाभाविक रूपमा तत्काल निर्णय लिनुहुन्छ। तर अब टिप्पणी गर्नुपर्ने अवस्था आएको छ। प्रधानमन्त्रीज्यू, तपाईं तुरुन्त मन्त्री गुप्तालाई बर्खास्त गर्नुहोस्।”
महामन्त्री थापाले घूस प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिंदै दोषी जो भए पनि कारबाही हुनुपर्ने बताए।
स्मरण रहोस्, मन्त्री गुप्ताको एक अडियो सार्वजनिक भएको छ, जसमा उनले २५ लाख रुपैयाँ घूसको माग गरेको आशंका गरिएको छ। उक्त अडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ र यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया