काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन्।
सोमबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानमा सहभागी हुँदै अध्यक्ष राउतले सत्ता–संरचना निषेधात्मक ढंगमा अघि बढिरहेको बताउँदै गम्भीर आपत्ति जनाए।
“लामिछानेलाई पहिलोपटक गिरफ्तार गरिँदा नै मैले राजनीतिक प्रतिशोधको संकेत देखिएको सार्वजनिक रूपमा भनेको थिएँ,” सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले स्मरण गरे, “राज्यले कसैप्रति दमन र प्रतिशोधको व्यवहार देखाउनु हुँदैन, प्रतिस्पर्धा निष्पक्ष र स्वस्थ हुनुपर्छ।”
उनले नेपालमा शक्ति पृथकीकरणको सिद्धान्त व्यवहारमा नउत्रेको जिकिर गर्दै अदालतको निर्णयहरू कार्यपालिका र व्यवस्थापिकाबाट प्रभावित देखिने टिप्पणी गरे।
“यहाँ हामीले खुलेरै देख्छौं—अदालत, प्रहरी र संसद कसरी एकअर्काको प्रभावमा छन्। त्यसैले अदालतले केही भने पनि हामी अनुमान लगाउन सक्छौं कि कहाँबाट त्यो निर्देश आएको हो,” राउतले भने।
अध्यक्ष राउतले हस्ताक्षर अभियान कुनै पनि रूपमा अदालतको निर्णयको विरोध नभई राज्यको मनपरी, पक्षपात र प्रभावशाली हस्तक्षेपविरुद्ध जनमत निर्माण गर्न गरिएको प्रस्ट पारे।
“हस्ताक्षर त म हतारमा आएर हैन, सोचविचार गरेर गरिरहेको छु। हाम्रो पार्टीको सचिवालयमा पनि यसबारे छलफल भएको छ,” उनले बताए, “हामी सधैं न्यायको पक्षमा उभिँदै आएका छौं। त्यसैले यस्तो अभियानप्रति हाम्रो समर्थन रहनेछ।”
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया