काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको बताएका छन्। सोमबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मुस्ताङबाट निर्वाचित संघीय सांसद तथा स्थानीय जनप्रतिनिधिहरूसँगको छलफलमा उनले यस्तो जानकारी गराएका हुन्।

भर्खरै असार २४ गते आएको आकस्मिक बाढीले रसुवागढीस्थित भोटेकोशी नदीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि सोही दिन प्रधानमन्त्री ओलीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले वैकल्पिक मार्गको खोजी र अन्य नाकाको सञ्चालन प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए।

advertisement

छलफलका क्रममा प्रधानमन्त्री ओलीले मुस्ताङको विकासका लागि भएका विभिन्न पहलहरूको स्मरण गर्दै बेनीघाट–कोराला सडक निर्माण कार्य आफ्नै पहलमा सुरु गरिएको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथको भ्रमण गराएको, मुक्तिनाथ केवलकारको तयारी अघि बढाइएको, स्याउको सुपर जोन तथा च्याङ्ग्रा पालनलाई प्राथमिकतामा राखिएको पनि उल्लेख गरे।

प्रतिनिधिमण्डलले कोराला नाका सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै पर्यटन नीतिमा पनि पुनरावलोकनको माग राख्यो। उनीहरूले लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विदेशी पर्यटकहरूबाट प्रतिव्यक्ति ५०० अमेरिकी डलर शुल्क लिने नीति हटाउन माग गरे, जसका कारण पर्यटक आगमनमा गिरावट आएको जनाए।

कोराला नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न भन्सार, अध्यागमन, एकीकृत सुरक्षा चौकी, सुख्खा बन्दरगाह लगायत आवश्यक संरचना निर्माण गर्नुपर्नेमा पनि प्रतिनिधिमण्डलले जोड दिएको थियो। यस्तै, कालिगण्डकी करिडोर अन्तर्गत कागबेनी–कोरला सडकखण्ड कालोपत्र गर्ने, बाँकी रहेका ठेक्का प्रक्रिया टुंग्याउने र तोडिएका पुल निर्माणको ठेक्का पुनः सुरु गर्नुपर्ने माग पनि राखिएको थियो।

छलफलमा संघीय सांसद योगेन्द्र गौचन थकाली, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले माथिल्लो मुस्ताङमा पर्यटन घटेका कारण होटेल तथा स्थानीय व्यवसायीहरू आर्थिक रुपमा संकटमा परेको गुनासो पनि प्रधानमन्त्री समक्ष राखेका थिए।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com