काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि देशको कठोर यथार्थ नदेखी “अमरापुरीको सपना” बाँडेको आरोप लगाएका छन्।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरूप्रति आपत्ति जनाउँदै ती यथार्थविहीन र व्यङ्ग्यपूर्ण रहेको टिप्पणी गरे।
ढकालले भने, “३५ वर्षमा देश रामराज्य भएको रे, भ्रष्टाचारको गन्धै छैन रे। तर जब जनता भ्रष्टाचारीविरुद्ध आवाज उठाउँछन्, उहाँहरूलाई अप्ठ्यारो लाग्छ। संसारभर सबै बेठीक र उहाँहरू मात्र ठीक भन्ने दृष्टिकोण खतरनाक हो।”
उनले विगत तीन दशकको शासन प्रणालीले देशको अर्थतन्त्रलाई “माछाको काँडो” बनाएर छाडेको आरोप लगाउँदै त्यसको जिम्मेवारी पुराना दलहरूले लिनुपर्ने बताए।
सांसद ढकालले प्रधानमन्त्री ओलीलाई नै नकारात्मक राजनीति फैलाउने “आदिपुरुष” को संज्ञा दिंदै भने, “देश लुटेर छाड्नेहरू अहिले हामीलाई नै दोष दिन आउँछन्, यिनै हुन् नकारात्मकताको जन्मदाता।”
सहकारी ठगी प्रकरणविरुद्ध चलाइएको हस्ताक्षर अभियानप्रति प्रधानमन्त्री ओलीको आलोचना उल्लेख गर्दै ढकालले सो अभियानमा पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश र लाखौं नागरिक संलग्न रहेको जानकारी गराए।
“हस्ताक्षर गर्न मंगल ग्रहबाट कोही आएको होइन,” उनले व्यङ्ग्य गरे, “८४ सालले देखाउँछ, को कहाँ उभिएको छ।”
सांसद ढकालले प्रधानमन्त्रीकै कार्यक्रममा तस्करहरू सक्रिय रहेको दाबी गर्दै सरकारले सुशासनको नाममा गरिरहेको दाबीको समेत खण्डन गरे।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया