काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व ऊर्जा मन्त्री जनार्दन शर्मामाथि तीव्र प्रहार गरेका छन्। उनले शर्माले १२ वर्षसम्म ऊर्जा मन्त्रालय सम्हाल्दा के काम गरे भन्ने जिज्ञासा सार्वजनिक रूपमा उठाएका छन्।

मंगलवार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको २३औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री खड्काले पूर्वमन्त्री शर्माको आलोचनात्मक टिप्पणीको प्रतिवाद गरेका हुन्।

advertisement

शर्माले कार्यक्रममा बोल्दै मन्त्री खड्कामाथि ऊर्जा क्षेत्रको विकासमा ढिलाइ भएको, विद्युत् खरिद सम्झौता समयमा नगरेको, लाइसेन्स कब्जा प्रवृत्ति बढेको र सरकारको नियत नै शंकास्पद रहेको आरोप लगाएका थिए। त्यही क्रममा शर्माले खड्कालाई फोनमा व्यस्त देखेपछि “फोन राख्नुस्, मेरो कुरा सुन्नुस्” भन्दै झर्किएको दृश्यले थप चासो पैदा गर्‍यो।

मन्त्री खड्काले शर्माको आरोपको जवाफ फर्काउँदै भने, “१२ वर्षसम्म ऊर्जा मन्त्रालयमा नेतृत्व गर्दा तपाईंहरूले के गर्नुभयो?” उनले अहिलेको ऊर्जा मन्त्रालय कुनै काम रोकेर नबस्ने स्पष्ट पार्दै विगतमा अड्किएका धेरै कामहरू अहिले पुनः गति लिएको दाबी गरे।

उनले सरकारको स्पष्ट ऊर्जा विकास रणनीति रहेको उल्लेख गर्दै भने, “अबको १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना मन्त्रिपरिषद्बाट पारित भइसकेको छ।” उनले ऊर्जा मन्त्रालय सम्हालेको एक वर्षमै विद्युत् उत्पादन ३,२०० मेगावाटबाट बढेर ३,६०० मेगावाट पुगेको पनि बताए।

खड्काले आगामी वर्षमा थप एक हजार मेगावाट विद्युत् उत्पादन हुने र ट्रान्समिसन लाइन निर्माणमा निजी क्षेत्रलाई समेत सहभागी गराउने योजना अघि सारिएको जानकारी दिए। “ऊर्जा क्षेत्रमा ६४ खर्ब रुपैयाँ लगानी आवश्यक पर्छ, जुन सरकार अकेले लगानी गर्न सक्दैन, त्यसैले निजी क्षेत्र अपरिहार्य छ,” उनले स्पष्ट गरे।

उनले अब विद्युत् खरिद–बिक्रीको जिम्मा नेपाल विद्युत प्राधिकरण मात्रमा सीमित नरहने, निजी क्षेत्रले पनि सो अवसर पाउने गरी नीति परिवर्तनको प्रक्रिया सुरु भइसकेको बताए।

समापनमा मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालको समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै निजी र सरकारी सहकार्यमा अग्रगामी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com