काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक एजेन्डामाथि प्रश्न उठाउँदै कडा आलोचना गरेकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाले जनताको सेवा, नाटक, षड्यन्त्र वा चन्दा संकलन – कुन एजेन्डा अघि बढाएको हो भनी प्रश्न गरिन् ।
सांसद गौतमले रास्वपाका सभापति स्वयं भिजिट भिसामा अमेरिका गइ बेपत्ता भएको, पार्टीका अन्य नेताहरू नागरिकता, दोहोरो राहदानी र सहकारी ठगी जस्ता मुद्दामा मुछिएको उदाहरण प्रस्तुत गर्दै, “आकाशतिर फर्केर थुक्दा बाछिटा आफ्नै मुखमा पर्न सक्छ,” भन्दै व्यंग्य प्रहार गरिन्।
उनले नयाँ दलहरूले संसदलाई नाटकको मञ्च बनाइरहेको आरोप लगाइन्। “राजनीति अब नीति र सिद्धान्त होइन, नाटक र नक्कलीपनको अखडा बनेको छ। आँसु, आरोप र अभिनय सब तयार गर्ने निर्देशक सांसद नै हुन थालेका छन्,” गौतमको भनाइ थियो।
सांसद गौतमले रास्वपाले सहकारी ठगीमा मुछिएका व्यक्तिहरूका पक्षमा हस्ताक्षर संकलन गरी अदालतलाई प्रभावमा पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै यसलाई योजनाबद्ध ‘नक्कली अभियान’को संज्ञा दिइन्।
“अब प्रश्न उठ्छ, रास्वपाको एजेन्डा के हो? जनताको सेवा, नाटक, षड्यन्त्र वा चन्दा संकलन?” भन्दै गौतमले पुनः सोधिन् ।
उनले नयाँ दलहरूले अरूलाई नैतिकताको पाठ पढाउने तर आफ्नै पार्टीभित्र देखिएको विकृति र भ्रष्टाचारलाई वेवास्ता गरेको आरोप पनि लगाइन्।
साथै, गौतमले प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता जनाए पनि मन्त्रिपरिषद्का सदस्य घुसकाण्डमा संलग्न भएको अडियो सार्वजनिक हुँदा कुनै कारबाही नहुनु सरकारको दोहोरो चरित्र भएको टिप्पणी गरिन्।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया