काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै गएको र त्यसकै कारण शैक्षिक अवस्था दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षा क्षेत्रमा सुधारको स्पष्ट खाका नबनाई सरकारले मनोमानी ढंगले निर्णय गर्दै आएको आरोप लगाए। उनले भने, “शिक्षा क्षेत्रमा गुणस्तरको खाका नबनाई अन्धाधुन्द रूपमा विद्यालय थप्ने, दरबन्दी नहेरी आवेदनको भरमा स्वीकृति दिने जस्ता कार्यले शिक्षाको अवस्था झन् जटिल बनाएको छ।”
थापाले शिक्षा, स्वास्थ्य र राष्ट्रिय विकास जस्ता संवेदनशील क्षेत्रहरूलाई राजनीतिक प्रभावबाट टाढा राखिनु पर्नेमा जोड दिए। “शिक्षालाई गुणस्तरीय बनाउने सोच त देखियो, तर त्यो कार्यान्वयनका लागि आवश्यक मोडालिटी नहुँदा समस्या जटिल बन्दै गएको छ,” उनले स्पष्ट पारे।
उनले हाल संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयक शिक्षकहरूको चासोलाई प्राथमिकतामा राखेर बनेको भन्दै आलोचना गरे। “यो विधेयक शिक्षक विधेयकजस्तो देखिन्छ, शिक्षाको समग्र सुधारका लागि होइन, केही माग सम्बोधन गर्न मात्र केन्द्रित देखिन्छ,” सभापति थापाको गुनासो थियो।
थापाले शिक्षकहरूलाई विद्यार्थीप्रति उत्तरदायी बनाउनु शिक्षा क्षेत्र सुधारको मूल आधार भएको बताउँदै भने, “शिक्षक जिम्मेवार भए मात्र शिक्षा सुध्रन्छ। त्यसका लागि नीति र विधिमा स्पष्टता हुनुपर्छ।”
उनले सबै सरोकारवालासँग समन्वय गरेर शिक्षा विधेयकको संशोधन र प्रभावकारी कार्यान्वयनका लागि समिति प्रतिबद्ध रहेको उल्लेख गरे।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया