काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ। पोखरास्थित करिब १३५ रोपनी जग्गा व्यक्तिगत नाममा दर्ता गराउने प्रक्रिया अघि बढाउने क्रममा गरिएको भनिएको यो आर्थिक लेनदेनमा मन्त्री अधिकारीसहित अन्य उच्चपदस्थ व्यक्ति जोडिएका छन्।
सार्वजनिक अडियो अनुसार उक्त घुस रकम मन्त्री अधिकारीले आफ्ना छोरा मनोज अधिकारीमार्फत लिएको उल्लेख छ। अडियोमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, सोही मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र केही बिचौलियाहरूको समेत संलग्नता देखिएको छ।
अडियोमा गुप्ताले ३५ लाख, सचिव पोखरेलले ५ लाख र मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ लिएको उल्लेख गरिएको छ। यस्तै, पोखराको सो जग्गा प्रकरणमा हालसम्म करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको पनि अडियोमा सुनिन्छ।
यसअघि गुप्ताको संलग्नता देखिएको एक अडियो सार्वजनिक भएपछि उनी मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। त्यही अडियोमा मन्त्री अधिकारीको नाम गुप्ता र बिचौलियासँगको संवादमा उल्लेख भए पनि उनले प्रतिनिधिसभाको बैठकमा त्यसको खण्डन गरेका थिए।
तर पछिल्लो अडियोमा उनीमाथि प्रत्यक्ष घुस लिएको आरोप लागेपछि घटनाले नयाँ मोड लिएको छ। हाल सार्वजनिक अडियोलाई लिएर राजनीतिक र कानुनी वृत्तमा चर्को चर्चा चलिरहेको छ भने अनुसन्धानको मागसमेत उच्चस्तरबाट उठ्न थालेको छ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया