काठमाडौं । पछिल्ला दिनहरूमा सार्वजनिक भइरहेका घुसकाण्डप्रति कलाकार दीपकराज गिरीले तीव्र व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जालमार्फत गिरीले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूलाई घुस खान सिकाउन तालिम नै दिनुपर्ने अवस्थाको संकेत गर्दै कटाक्ष गरेका हुन्।
गिरीले आफ्नो फेसबुकमा लेखेका छन्, “लौ न, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो। घुस खान पो रोक्न सकिन्न त, समाचार त रोप्नुपर्यो नि। भोलि मन्त्री खाने मान्छे नपाइएला त!”
उनको यो व्यङ्ग्य हालै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको नाम जोडिएको अडियो सार्वजनिक भएसँगै आएको हो। अडियोमा उनीहरूलाई विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ घुस लिएको दाबी गरिएको छ।
यसै घुसकाण्डको चपेटामा परेका गुप्ताले राजीनामा दिइसकेका छन् भने मन्त्री अधिकारी पनि चर्को आलोचनाको सामना गरिरहेका छन्।
कलाकार गिरीले ती घटनाको सिलसिलामा राजनीतिक पात्रहरूलाई व्यङ्ग्य गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सकस परेको वर्तमान अवस्थामाथि व्यंग्यात्मक शैलीमा प्रश्न उठाएका छन्। उनका यी भनाइहरूले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाइरहेका छन्।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया