काठमाडौं । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि सार्वजनिक भएको घुस प्रकरणको अडियोबारे गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिनको माग गरेको छ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल प्रेससँग कुरा गर्दै सम्बन्धित निकायले तत्काल छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

advertisement

“जो–कोही संलग्न छन्, कानुनी दायराभित्र ल्याउनुपर्छ,” उनले भने, “अडियो सार्वजनिक भइसकेको छ, अब प्रहरी होस् वा अख्तियार, छानबिन गरेर सत्यतथ्य बाहिर ल्याइनुपर्छ।”

महतले कानुनी शासनमा कसैले पनि बदमासी गरेर उम्कन नहुने स्पष्ट पारे। “कानूनको शासन कायम गर्न दोषीलाई कारबाही अपरिहार्य छ,” उनले जोड दिए।

यसअघि ओली नेतृत्वको सरकारले बनाएको मन्त्रिपरिषद्का तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि पनि यस्तै अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए।

हालै सार्वजनिक अडियोमा भूमि मन्त्री अधिकारी, पूर्वमन्त्री गुप्ता, तत्कालीन सचिव अर्जुन पोखरेल र मन्त्री अधिकारीका छोरा मनोज अधिकारीले पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा सार्न घुस रकम लिएको दाबी गरिएको छ।

उक्त अडियोमा बलराम अधिकारीले छोरामार्फत ३२ लाख, गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख रुपैयाँ लिएको भनिएको छ। कुल खर्च डेढ करोड पुगेको दाबी अडियोमा सुनिन्छ।

प्रश्न उठाइएको यी दुई मन्त्री दुवै सत्तारुढ नेकपा (एमाले) का हुन्। कांग्रेसले भ्रष्टाचारको सवालमा दल हेर्नु नपर्ने स्पष्ट पार्दै, न्यायिक प्रक्रिया अविलम्ब अघि बढाउन माग गरेको हो।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com