काठमाडौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ निर्माण गर्ने र महिलालाई महिनावारीको समयमा त्यहाँ बस्न बाध्य पार्नेहरूमाथि कडा नीति अपनाउने चेतावनी दिएका छन्। उनले यस्ता व्यक्तिहरूलाई स्थानीय तहबाट दिइने निश्चित सुविधा पुनः विचार गर्ने गरी देशभरका स्थानीय तहलाई परिपत्र पठाउने तयारी भइरहेको जानकारी दिएका छन्।
बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरूसँगको भेटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वयका लागि अनुरोध गरिने बताए। “महिनावारीसँग सम्बन्धित अन्धविश्वास अझै पनि समाजमा गहिरो रूपमा कायम छ,” उनले भने, “यसको अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक छ।”
मन्त्री लेखकले महिलामाथि हुने हिंसा, बलात्कारलगायतका घटनाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जानकारी दिए। “महिलाको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षाप्रति सरकार प्रतिबद्ध छ,” मन्त्री लेखकले भने।
सो अवसरमा अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष ममता गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले देशभर महिला तथा बालबालिकामाथि भइरहेका हिंसाका घटनाबारे चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। सञ्जालले सो सम्बन्धमा गृहमन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएको छ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया