काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कन मिल्छ कि मिल्दैन भन्नेबारे निर्णय पार्टीले गर्ने स्पष्ट पारेका छन्।

पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भण्डारीले पार्टीमा सक्रिय राजनीतिमा फर्कने विषयमा अहिलेसम्म आफूलाई कुनै सल्लाह नगरेको बताएका हुन्। “उहाँले मसँग कुनै सल्लाह गर्नुभएको छैन, पार्टीसँग औपचारिकरूपमा केही भन्नु भएको छैन,” ओलीले भने।

advertisement

पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको सदस्यता नवीकरण गरेपछि उनी फेरि राजनीतिमा सक्रिय हुने अड्कल भइरहेका बेला प्रधानमन्त्री ओलीले यसबारे पार्टी भित्र छलफल आवश्यक भएको बताए। “हामीले उहाँलाई आफ्नै इच्छा अनुसार होइन, पार्टी निर्णयअनुसार राष्ट्रपतिको उम्मेदवार बनाएका थियौं। उहाँ पार्टीको उपाध्यक्ष समेत हुनुहुन्थ्यो,” ओलीले स्मरण गराए।

पूर्वराष्ट्रपतिले राजनीति फर्किनेबारे सार्वजनिक अभिव्यक्ति दिइसकेपछि पार्टीले यस विषयमा चाँडै निर्णय लिने ओलीको भनाइ थियो। “उहाँको भनाइ सार्वजनिक रूपमा आएको छ। त्यसैले पार्टीले पनि निर्णय गर्नुपर्छ। गणतन्त्र, समाज, राजनीति र उहाँकै जीवनमा यसले पार्ने प्रभावबारे सोचेर निर्णय गरिनेछ,” उनले स्पष्ट पारे।

ओलीले अहिले एमालेको नेतृत्व विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्न लागिएको हो कि भन्ने अड्कलबारे पनि प्रतिक्रिया दिएका छन्। उनले हाँस्दै भने, “अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने कुरा आएको छैन। पहिलो कुरा त पार्टीले उहाँ राजनीतिमा फर्कनु हुन्छ भनेर स्वीकार नै गरेको छैन, दोस्रो उहाँ लामो समय पार्टीको सक्रिय राजनीतिबाट टाढा रहनुभएको छ।”

प्रधानमन्त्री ओलीले पार्टीले आवश्यक छलफल गरेर छिट्टै निर्णय लिने प्रतिबद्धता पनि जनाए। “हामी निर्णय लिन धेरै ढिलो गर्दैनौं,” उनले अन्तर्वार्तामा भने।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com