काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पछिल्लो समय सार्वजनिक भएको विवादास्पद अडियो आफ्नो वा मन्त्रालयसँग कुनै सरोकार नरहेको दाबी गरेका छन्।
मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आफूविरुद्ध गरिएको चरित्रहत्या प्रयासको आरोप पनि लगाए।
पोखराको एक जग्गा प्रकरणसँग जोडिएर मन्त्री अधिकारीको नामसमेत विवादमा आएको थियो। त्यस सम्बन्धमा प्रस्ट पार्दै उनले भने, “अडियोमा प्रयोग भएको भाषा र त्यसमा रहेका व्यक्तिहरू मसँग सम्बन्धित छैनन्। मेरो बोली हो कि होइन भन्ने कुरा अडियोबाटै स्पष्ट हुन्छ।”
उनले अडियो सार्वजनिक हुनुको पछाडि नियतवश गरिएको साजिश रहेको आरोपसमेत लगाए। “यो शुद्ध चरित्रहत्या गर्ने प्रयास हो,” मन्त्री अधिकारीले भने, “कुनै व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न मालपोत अधिकृतलाई हटाउन मसँग आए। मैले नमानेपछि यी विषयहरू बाहिर ल्याइएका हुन्।”
मन्त्री अधिकारीले यस्ता आरोपहरू आफ्नो निजी तथा राजनीतिक छविमा धक्का पुर्याउने नियतसहित आएका भन्दै सार्वजनिक रूपमा अस्वीकार गर्दै तथ्यमा आधारित बहसको माग गरेका छन्।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया