काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलगायत प्रभावशाली व्यक्तित्वहरूलाई पार्टीमा आवद्ध गराउने प्रयास भइरहेको बताएका छन्।

बिहीबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वाग्लेले नयाँ पुस्ताका सक्षम र लोकप्रिय अनुहारहरू रास्वपामा जोडिन थालेको उल्लेख गरे। “काठमाडौंबाट निर्वाचित मेयर बालेन शाह, कुलमान घिसिङ, डा. सिके राउत, गोपी हमालजस्ता स्थापित र लोकप्रिय अनुहारहरू पार्टीमा जोडिँदै हुनुहुन्छ,” उनले भने, “यो सकारात्मक संकेत हो।”

advertisement

उपसभापति वाग्लेले यस्ता धारणा रास्वपाले अघि सारेको ‘नयाँ अनुहार बनाम पुराना अनुहार’को प्रतिस्पर्धा हो भन्दै आफ्नो पार्टी यसको केन्द्रविन्दु बन्ने दाबी गरे।

पार्टी अध्यक्ष रवि लामिछानेविरुद्ध अदालतमा विचाराधीन मुद्दालाई ‘अत्यधिक राजनीतिक अभियोजन’को संज्ञा दिँदै वाग्लेले त्यसको विरोधस्वरूप सुरु गरिएको हस्ताक्षर अभियानमा व्यापक जनसमर्थन प्राप्त भएको बताए। उनले भने, “मुद्दा अदालतमा विचाराधीन भएकाले न्यायिक प्रक्रियामा हस्तक्षेप गर्ने हाम्रो उद्देश्य होइन। यो हस्ताक्षर अदालत बुझाउने होइन, पार्टीको रेकर्डका लागि हो।”

हस्ताक्षर अभियानबारे उठेका आलोचनाको खण्डन गर्दै उनले जनमतलाई कमजोर आँक्न नहुने बताए। “यदि सडकको अभिमतले न्यायाधीशको निर्णय प्रभावित हुन्छ भन्ने शंका छ भने त्यो न्याय प्रणालीप्रतिकै अविश्वास हो,” उनले भने।

वाग्लेले अभियानप्रति जनतामाझ चर्को आकर्षण देखिएको दाबी गर्दै यसले प्रमुख दलहरूको समानुपातिक मतभन्दा बढी समर्थन जुटाउने संकेत दिएको बताए। “अब डर मान्नुपर्नेहरूले डर मानिरहेका छन्,” उनले ठोकुवा गरे।

उनका अनुसार कलाकार मनिषा कोइरालालगायत प्रतिष्ठित व्यक्तिहरूको समर्थनले अभियानको सांकेतिक महत्व झनै बढेको छ। उनले नयाँ शक्तिहरूबीचको सहकार्यले नेपाली जनतामा नयाँ आशा पलाएको र मुलुकको राजनीतिक परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com