काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको समर्थनमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा हालसम्म २४ लाख ५७ हजार ६१८ जनाले सहभागिता जनाएको जनाएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अभियान संयोजक एवं नेता दीपक बोहराले हस्ताक्षर संकलनको अद्यावधिक विवरण सार्वजनिक गर्दै अभियानलाई थप व्यापक बनाउने योजना पनि सार्वजनिक गरे। उनका अनुसार साउन ५ गतेदेखि देशभर घरदैलो अभियान सञ्चालन गरिनेछ।
“सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरिएको विरोधस्वरूप असार ७ गतेबाट हस्ताक्षर संकलन सुरु गरिएको हो,” बोहराले भने, “अब केन्द्रीय कार्यालय, सातै प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ स्थापना गरेर अभियानलाई संस्थागत रूपमा विस्तार गरिनेछ।”
बोहराका अनुसार अभियान सञ्चालनका लागि हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग संकलन भएको छ। यसैबीच, सभापतिको अपिल छपाइ, हस्ताक्षर फारम वितरण, प्रचारप्रसारलगायत खर्च शीर्षकमा हालसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको पनि उनले जानकारी दिए।
रास्वपाले न्यायिक प्रक्रियामा हस्तक्षेप नगर्ने अडानसहित जनमत निर्माणका लागि हस्ताक्षर अभियानलाई लोकतान्त्रिक अभ्यासको रूपमा अगाडि बढाइरहेको जनाएको छ। पार्टीले आगामी दिनमा अभियान अझ सशक्त ढंगले सञ्चालन गर्दै नागरिकस्तरको समर्थनलाई संस्थागत गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया