काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारलाई जिम्मेवारी बोधसहित काम गर्न आग्रह गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारलाई दिन गनेर बस्ने मानसिकता त्याग्न चेतावनी दिए।
“सरकार बनेपछि एक वर्ष बस्छु भनेर कुर्नु हुँदैन,” थापाले भने, “एक वर्षभित्र के गर्ने भन्ने स्पष्ट योजना हुनुपर्छ। त्यसका लागि परिणाममुखी कार्यदिशा आवश्यक छ।”
महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम उल्लेख गर्दै आलोचना गरे — “ओलीजीले एक वर्षपछि कांग्रेसलाई सरकार सुम्पिन्छु भनेर भन्नुको सट्टा, त्यो एक वर्षमा म के–के गर्छु भनेर देशलाई देखाउनु पर्छ।”
उनले सरकारसँग ‘उद्योगप्रतिको सोच’ भन्दा पनि ‘उद्यमशीलता प्रवर्द्धन गर्ने सोच’ हुनुपर्ने बताए। कांग्रेसले यही सोचका आधारमा आगामी निर्वाचनअघि नै स्पष्ट कार्ययोजना बनाएर अगाडि बढ्ने तयारी गरिरहेको उनले जानकारी दिए।
“२०८४ सालको चुनावअघि नै सरकारमा पुगेपछि के गर्ने, के नगर्ने भनेर प्रशिक्षण दिने कार्यक्रम सुरु गर्दैछौं,” थापाले बताए।
महामन्त्री थापाले विरोध गर्न सजिलो भए पनि काम गरेर देखाउनु चुनौतीपूर्ण हुने धारणा राखे। उनले मुलुकमा उपभोग क्षमता (क्रय शक्ति) र माग बढ्दो रहेको तर उत्पादनले त्यसलाई धान्न नसकेको उल्लेख गर्दै उत्पादन अभिवृद्धिमा केन्द्रित योजनाको आवश्यकता औंल्याए।
“माग र खर्चको हैसियत बढ्दो छ, तर त्यसको पूर्ति बाह्य आयातले गरिरहेको छ। त्यसैले स्वदेशी उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको छ,” उनले भने।
महामन्त्री थापाले पार्टीको भावी रणनीतिमा नीति, योजना र कार्यान्वयन क्षमतामा आधारित दृष्टिकोण हुने पनि प्रस्ट पारे।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया