काठमाडौं । नेकपा (एमाले)को पछिल्लो सचिवालय बैठकमा पार्टी विधान संशोधनका विषयमा नेताहरूबीच गम्भीर बहस भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच विशेषगरी विधानको प्रावधानमा भएको फेरबदलबारे तिखो सवाल-जवाफ चलेको हो।

बिहीबार राति अबेरसम्म चलेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको संशोधन प्रस्तावमाथिको छलफलका क्रममा पोखरेलले विधान तीनपटक छापिएको भन्दै शंका उठाएका थिए। जवाफमा अध्यक्ष ओलीले पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट नेता कर्ण थापासँग तुलना गर्दै आलोचना गरे। ओलीले भने, “तपाईं पनि पदाधिकारी हुनुहुन्छ, कर्ण थापाजस्तो कुरा बोकेर नहिँड्दा राम्रो।”

advertisement

यसको प्रतिवाद गर्दै पोखरेलले तीव्र स्वरमा भने, “मलाई कर्ण थापासँग किन जोड्नुहुन्छ? विचार र सिद्धान्तमा तपाईं र मबीच कुनै भिन्नता छैन।”

पोखरेलले विधानमा भएको फेरबदलप्रति असन्तुष्टि जनाउँदै ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा यथावत राख्नुपर्ने धारणा राखे। उनको मतमा नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतले समर्थन जनाए।

सचिवालयले आगामी भदौ २०–२२ गते गोदावरी, ललितपुरमा हुने दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत नगर्ने निर्णय गरेको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार उक्त निर्णयले पूर्वराष्ट्रपति भण्डारीको महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागिता सम्भव नहुने संकेत गरेको छ। पार्टीमा मनोनीत केन्द्रीय सदस्यहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुन नपाउने पक्का भएको छ।

सचिवालय बैठकले पार्टी संगठनलाई सघन बनाउने निर्णय गर्दै अब एमालेमा केवल तीन तह — स्थायी कमिटी, पोलिटब्युरो, र केन्द्रीय कमिटी मात्र राख्ने प्रस्ताव गरेको छ। उपाध्यक्ष गुरु बरालका अनुसार यो प्रस्ताव आगामी राष्ट्रिय महाधिवेशनमा अनुमोदनका लागि पेश गरिनेछ।

अहिले १९ जनाको रहेको पदाधिकारी संख्यालाई घटाएर १५ जनामा सीमित गर्ने निर्णय भएको छ। अध्यक्ष, महासचिव, उपमहासचिव १/१ जना, उपाध्यक्ष ५ जना, र सचिव ७ जना रहने प्रारम्भिक सहमति बनेको छ। तर, बाँकी पदको स्पष्ट बाँडफाँट भने हुन बाँकी छ।

विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरे पनि नेताहरूको सुझावअनुसार त्यसलाई २५१ सदस्यीय बनाइएको हो। नयाँ संरचनाअनुसार केन्द्रीय सदस्यहरूको एक तिहाइ पोलिटब्युरोमा रहनेछन्, जसअनुसार पोलिटब्युरो ८३ सदस्यीय हुनेछ। हालको पोलिटब्युरो ९९ सदस्यीय छ।

उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटीको रूपमा मान्ने निर्णय सर्वसम्मत रूपमा पारित भएको जानकारी दिए। उनका अनुसार केही प्रारम्भिक फरक मत भए पनि अन्ततः सबै निर्णयहरूमा सर्वसम्मति कायम भएको हो।

सचिवालय बैठकले केन्द्रीय सदस्यहरू राष्ट्रिय महाधिवेशनका प्रतिनिधि बन्नका लागि आफैंले प्रतिनिधि चयन प्रक्रियाबाट आउनुपर्ने वा आयोजकको हैसियतमा स्वतः सहभागिता जनाउने भन्ने विषयमा पनि छलफल गरेको थियो। अन्ततः निर्णय अनुसार, केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमै महाधिवेशनमा सहभागी हुनेछन्, तर आगामी महाधिवेशनका प्रतिनिधिको रूपमा स्वतः सहभागी नहुने गरी व्यवस्थापन गरिनेछ।

सचिवालयबाट पारित निर्णयहरूलाई आज (शुक्रबार) बस्ने पोलिटब्युरो बैठक र आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने एमालेको तयारी छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com