काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको विधान संशोधन मस्यौदामाथि गम्भीर बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै उनले पोलिटब्युरो बैठकमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावबारे सबै सदस्यले जिम्मेवारीपूर्वक छलफलमा सहभागिता जनाउनुपर्ने बताएका छन्।

advertisement

पोखरेलले लेखेका छन्, “पार्टीको विधान महाधिवेशनमा पेश गरिने विधान संशोधनको मस्यौदामाथि सचिवालय बैठकमा गहिरो छलफल भइसकेको छ। आज पोलिटब्युरोमा थप बहस हुनेछ। सबै कमरेडहरू गम्भीर भएर बहसमा सहभागी होउन् र आवश्यक परिमार्जनका लागि रचनात्मक योगदान दिउन् भन्ने मेरो आग्रह छ।”

उनको यो स्ट्याटस एमाले महासचिव शंकर पोखरेलको अघिल्लो स्ट्याटसप्रति लक्षित रहेको देखिन्छ। महासचिव पोखरेलले शुक्रबार बिहानै सामाजिक सञ्जालमा पार्टीमा नीति, विधि र नेतृत्वको विषयमा स्पष्टता आइसकेको र अब बहसको टुंगो लागेको बताएका थिए।

शंकर पोखरेलले भनेका छन्, “विधान निर्माणको अन्योल अन्त्य भएको छ। मिसन २०८४ सफल बनाउनका लागि सुदृढ नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो, जुन अब सुनिश्चित भइसकेको छ।”

एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। उक्त बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि औपचारिक छलफल हुनेछ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले केही महत्वपूर्ण निर्णयहरू पारित गरिसकेको छ। तीमध्ये—७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाउने, पदाधिकारी संख्यालाई घटाएर १५ कायम गर्ने, र केन्द्रीय कमिटीलाई २५१ सदस्यीय बनाउने प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन्।

आजको पोलिटब्युरो बैठकमा यी प्रस्तावहरू अनुमोदन भएपछि आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमार्फत अन्तिम निर्णय गरिनेछ। उक्त प्रस्तावहरू पार्टीको भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com