काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिएमा मुलुकका सबै समस्याको समाधान सम्भव हुने बताएका छन्।
शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान) बीच भएको पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निराशा होइन, आशा र संकल्पसाथ अघि बढ्नुपर्नेमा जोड दिए।
“समस्याहरू छन्, तर ती सबैको समाधान सम्भव छ। असम्भवलाई सम्भव बनाउन सकिन्छ,” उनले भने, “निराशा होइन, हिम्मतले मात्र परिवर्तन सम्भव हुन्छ। तपाईंहरू निराश नहुनुहोस्, अगाडि बढ्नुस्।”
नेपालले कम्युनिष्ट आन्दोलनलाई व्यवहारमा पनि सिद्धान्त अनुरूप अगाडि बढाउनुपर्ने उल्लेख गर्दै केवल भाषणमा क्रान्तिकारी देखिएर व्यवहारमा यथास्थितिवादी हुने प्रवृत्ति त्याग्नुपर्ने बताए।
“जनताको वास्तविक समस्या बुझेर समाधान खोज्नुपर्छ। कमरेड मदन भण्डारीले भनेका थिए– जीवनका लागि सिद्धान्त हो, सिद्धान्तका लागि जीवन होइन,” नेपालले स्मरण गरे, “त्यसैले नेपाली समाजको यथार्थ बुझेर नै हामीले मार्गचित्र तय गर्नुपर्छ।”
उनले नयाँ एकता ऐतिहासिक अवसर भएको भन्दै यसलाई परिवर्तनको नयाँ थालनीका रूपमा अगाडि बढाउन सबैलाई आग्रह गरे।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया