काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा मुलुकले भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको दाबी गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा दैनिक औसत २.५५ किलोमिटर सडक निर्माण भएको उल्लेख गरेका छन्। उनका अनुसार हालसम्म ९३२ किलोमिटर सडक कालोपत्र गरिएको छ।
ओलीले विगत छ वर्षको तथ्यांक प्रस्तुत गर्दै, भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय फड्को आफ्नै नेतृत्वको सरकारकालमा आएको तर्क गरेका छन्। “छ वर्षअगाडि हाम्रो सरकार हुँदा पूर्वाधार विकासको गति उच्च थियो। त्यो गति बीचमा सुस्त भयो। अहिले पुनः हाम्रो नेतृत्वमा गति बढेको देखिन्छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
उनले समृद्ध नेपाल निर्माणको आधार पूर्वाधारमै रहेको भन्दै आगामी दिनमा निर्माण कार्यको गति झनै तीव्र पारिने बताएका छन्।
इन्जिनियर्स डेको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मुलुकको भौतिक पूर्वाधारदेखि प्रविधि विकाससम्मको अभियानमा इन्जिनियरहरूको योगदान अतुलनीय रहेको बताएका छन्। “हाम्रा भरपर्दा जनशक्ति इन्जिनियरहरू नै हुन्, जसले समृद्धिको सपना साकार बनाउन मद्दत गर्दै आएका छन्,” उनले भने।
प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माणलाई विकासको मेरुदण्डका रूपमा अघि बढाउँदै यस्ता काममा इन्जिनियर वर्गप्रति सरकारको भरोसा अझ बढिरहेको स्पष्ट पारेका छन्।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया