काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्। शनिबार राजधानीमा आयोजित पार्टी स्कुल कार्यक्रममा बोल्दै उनले ओलीको नेतृत्वमा सरकारले निरंकुश, प्रतिशोधी र दक्षिणपन्थी शैलीमा राजनीतिक गतिविधि अघि बढाएको बताएका हुन्।
पुनले ओलीले विरोधी दलका नेताहरूलाई कमजोर पार्न योजनाबद्ध रूपमा मुद्दा लगाउने, विभाजन गराउने र आफू अनुकूल बनाउने रणनीति अपनाएको दाबी गरे। “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट सुरु भएको प्रतिशोधको यात्रा कांग्रेस नेतृ आरजु राणा देउवासम्म पुगेको छ,” उनले भने।
उनका अनुसार ओलीले सहकारी प्रकरणमा लामिछानेलाई फसाएर रास्वपामा फाटो ल्याउने प्रयास गरे भने माधव नेपालमाथि मुद्दा लगाएर एकीकृत समाजवादीलाई एमालेमा गाभ्न खोजेका छन्। त्यस्तै, उपेन्द्र यादव नेतृत्वको जसपामा पनि विभाजन ल्याएर एउटा समूह आफूतिर तान्ने तयारी भइरहेको पुनको दाबी छ।
पुनले ओलीका अन्य गतिविधिहरूलाई पनि आलोचना गर्दै भने, “एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्ने, राजेन्द्र लिङ्देनलाई आन्दोलन रोक्न दबाब दिने र अब काँग्रेस चलायमान भए आरजु राणामाथि मुद्दा लगाउने योजना बनाइएको छ।” उनले यो शैलीलाई “प्रतिशोधी राजनीति” को उदाहरण भने।
ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि विभिन्न अनुसन्धान निकायमार्फत फसाउने प्रयास गरेको पुनले आरोप लगाए। “सिआईबी, सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारमार्फत प्रयास असफल भएपछि प्रचण्डका पूर्व पीए विकेश श्रेष्ठमार्फत घेराबन्दी गर्ने कोशिश गरियो,” उनले बताए।
सरकारको एक वर्ष भ्रष्टाचारमै बितेको उनको आरोप छ। “अहिलेसम्म घूस प्रकरणमा मन्त्रीले राजीनामा दिएका छन्, अर्कोको अडियो सार्वजनिक भएको छ। सरकार बिचौलियाको रक्षा गर्नमै सीमित छ,” उनले भने।
पुनले ओली नेतृत्वको सत्तालाई एकाधिकारवादी र दक्षिणपन्थी गिरोहको संज्ञा दिँदै माओवादी त्यो शैलीविरुद्ध लडिरहेको स्पष्ट पारे। “हामी डराएका छैनौं। माओवादी पार्टीमा भाँडभैलो ल्याउने ओलीको योजना सफल हुँदैन,” उनले दोहोर्याए।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया