काठमाडौं । नेकपा एमालेका नेता तथा पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गुट निर्माण गरेर पार्टीलाई कमजोर पार्ने प्रयास तत्काल रोक्न आग्रह गरेका छन्।
शनिबार च्यासलमा जारी पोलिटब्युरो बैठकमा बोल्दै उनले पूर्वराष्ट्रपतिको मर्यादा बोकेकी भण्डारीलाई वैकल्पिक नेतृत्वका नाममा गुटबन्दीको माध्यम बनाउने खेल एमालेको हितमा नहुने स्पष्ट पारे। आफ्नो धारणा उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन्।
“विद्या भण्डारी राष्ट्रपतिको गरिमा र जिम्मेवारी बोकेको व्यक्तित्व हुनुहुन्छ। सक्रिय पार्टी भूमिकामा फर्किनु त्यो मर्यादासँग बाझिने इथिकल र प्रक्रियागत गल्ती हुनेछ,” बस्नेतले भने, “लोकतान्त्रिक मूल्य र आन्तरिक जनवादसँग पनि यस्ता कार्य मेल खाँदैनन्।”
उनले पार्टीको नेतृत्व चयन व्यक्तिगत चाहनाले होइन, विधिसम्मत प्रक्रियाबाट मात्र सम्भव हुने बताए।
बस्नेतले भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियतले कस्तो भूमिका खेल्ने भन्ने प्रश्न पनि उठाए। “नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ वा छैन भन्ने विषय गम्भीर प्रकृतिको हो। यस्तो निर्णय केन्द्रीय कमिटीको स्पष्ट दिशानिर्देशबिना गरिनु हुँदैन,” उनले स्पष्ट पारे।
उनको भनाइ अनुसार यस्तो संवेदनशील विषयमा व्यक्तिगत लहड वा गुटगत चलखेलभन्दा बढी पार्टीको विधि, मर्यादा र नीतिगत स्थिरतालाई ध्यान दिनु आवश्यक छ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया