काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीबीच आज आइतबार पार्टी कार्यालय च्यासलमा भेटवार्ता हुने भएको छ।

भेटवार्ता दिउँसो ३ बजे तय भएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले पुष्टि गरेका छन्। “सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यू र सम्माननीय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूबीच आज ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा भेटवार्ता हुनेछ,” सचिव राईले जानकारी दिए।

advertisement

पार्टी नेतृत्वमा भित्रिएको अन्तरविरोधका बीच हुने भेटलाई विशेष महत्वका साथ हेरिएको छ। एमालेको पछिल्लो सचिवालय र पोलिटब्युरो बैठकले अध्यक्ष ओलीलाई तेस्रो कार्यकालका लागि मार्ग प्रशस्त गर्ने गरी विधान संशोधनको तयारी अघि बढाएको छ। सोही प्रक्रियामा पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः आगमनलाई रोक्ने रणनीति अपनाइएको आरोप भण्डारी पक्षबाट लागिरहेको छ।

भण्डारीले एक वर्षअघि पार्टी सदस्यता नविकरण गरिसकेको दाबी गरिएपनि, ओली पक्षले सो सदस्यता वैध नभएको दाबी गर्दै आएका छन्। विधान संशोधनको तयारीसँगै भण्डारीको भूमिकाबारे पार्टीभित्र नयाँ बहस सुरु भएको छ।

यही प्रसंगमा भण्डारीले पार्टी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न च्यासल पुग्ने तय भएको बताइएको छ। भेटमा पार्टी नेतृत्व, विधान संशोधन प्रक्रिया, सदस्यता नविकरण लगायत विषयमा खुला छलफल हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com