काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई गणतन्त्रको वास्तविक अनुभूति दिलाउन स्वास्थ्य सेवामा गुणात्मक सुधार अपरिहार्य रहेको बताएका छन्।
आइतबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–२ देउरालीस्थित प्राथमिक अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री पौडेलले नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित सेवा भएकाले स्वास्थ्य क्षेत्रको प्रभावकारिता गणतन्त्रको मूल्यांकनसँग जोडिएको बताए।
“स्वास्थ्य उपचार नागरिकको आधारभूत आवश्यकता हो, जुन हरेक दिन महत्त्वपूर्ण हुन्छ,” उनले भने, “तर राज्यले यसमा अपेक्षित सुधार गर्न नसकेसम्म नागरिकले गणतन्त्र आएको अनुभूति गर्न सक्दैनन्।”
मन्त्री पौडेलले शिक्षा र स्वास्थ्यजस्ता सेवा क्षेत्रहरूमा राज्यको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै अझै पनि ती क्षेत्रहरूमा गुणस्तरीय सेवा सुनिश्चित हुन नसकेको स्वीकार गरे।
बालबालिका र वृद्धबृद्धाजस्ता संवेदनशील वर्गको स्वास्थ्य सेवा राज्यले आफैँले धान्नुपर्नेमा जोड दिंदै उनले भने, “सामाजिक सुरक्षाको मर्म अनुरूप उनीहरूको उपचारको जिम्मा सरकारले लिनैपर्छ।”
उद्घाटन समारोहमा मन्त्री पौडेलले सरकार स्वास्थ्य पूर्वाधार सुदृढीकरण, सेवा पहुँच विस्तार र जनताको जीवनस्तर सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी गराएका थिए।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार












प्रतिक्रिया