काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासल पार्टी कार्यालयमा भइरहेको भेटवार्तालाई एमालेको आगामी राजनीतिक मोड र आन्तरिक बहसको निकासको रूपमा महत्वपूर्ण भएको बताएका छन्।

शनिबार ओली–भण्डारी भेट जारी रहँदा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव भट्टराईले सो भेटघाट पार्टीभित्र उठेका विषयको समाधानतर्फको एक पहल भएको उल्लेख गरे।

advertisement

“यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ,” भट्टराईले भने, “पार्टीभित्र उत्पन्न विषयलाई समाधान गर्ने मोडल यसबाट निस्कनुपर्छ।”

उनका अनुसार भण्डारीको सक्रिय राजनीतिमा फर्किने सार्वजनिक घोषणापछि पार्टीभित्र व्यापक छलफल र मत–मतान्तर देखिएको थियो। बहुसंख्यक नेताहरूले पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल गर्नुपर्ने सुझाव दिएका थिए, र सोही सुझावअनुसार यो भेटवार्ता तय गरिएको हो।

“पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा भूमिका खेल्ने विषय सार्वजनिक रूपमा राखिसक्नुभएको छ,” भट्टराईले थपे, “त्यसमा फरक–फरक कोणबाट अभिव्यक्ति दिनुभन्दा संवादमार्फत साझा निष्कर्षमा पुग्नुपर्छ भन्ने सोचका साथ यो भेट भएको हो।”

भट्टराईले भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयलाई प्राविधिक मामिला भन्दै यसको आवश्यकता भन्दा पहिले राजनीतिक विषयको स्पष्टता हुनु जरुरी रहेको बताए।

“सदस्यता नवीकरण प्राविधिक कुरा हो। तर, राजनीतिक विषयको समाधान पहिला हुनुपर्छ,” उनले भने, “एकचोटि राजनीतिक निर्णय भएपछि प्राविधिक पक्ष आपसै समाधान हुन्छ।”

सचिव भट्टराईका अनुसार, भेटवार्ताबाट एमालेभित्र जारी बहसको समुचित निकास निकाल्ने अपेक्षा गरिएको छ। पार्टीभित्र नेतृत्व, सदस्यता र भण्डारीको भूमिकाबारे भइरहेका छलफलहरू यतिबेला निर्णायक मोडतर्फ अघि बढिरहेको संकेत मिलेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com