काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउँदै राष्ट्रिय निर्णायक शक्तिको रूपमा रुपान्तरण गर्न केन्द्रीय सदस्यहरूलाई आह्वान गरेका छन्।

आजदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको एमाले केन्द्रीय कमिटीको नवौँ बैठकको अध्यक्षता गर्दै ओलीले पार्टीभित्र वैचारिक र नीतिगत मतभेद नरहेको स्पष्ट गर्दै सिङ्गो पंक्ति एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए।

advertisement

“पार्टीभित्र अहिले कुनै नीतिगत वा वैचारिक विवाद छैन,” ओलीले बैठकमा भने, “तर पार्टीलाई विवादित बनाउन र विभाजित गर्न बाह्य तत्वहरूको चलखेल भइरहेको छ। त्यसप्रति सचेत रहँदै हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ।”

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले पछिल्लो समय पार्टीको सदस्यता २८ प्रतिशतले वृद्धि भई कुल सदस्य संख्या १ लाख ३९ हजार पुगेको जानकारी दिएका छन्। उनले यस्तो संगठनात्मक मजबुतीले एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा स्थापित गर्ने आधार तयार गरेको बताए।

ओलीले बैठकमा केन्द्रीय सदस्यहरूलाई आफूले महसुस गरेका विचारहरू खुलेर राख्न आग्रह गर्दै, विरोधीहरू एमालेलाई झुट र अफवाहमार्फत कमजोर देखाउन खोजिरहेको आरोप लगाए। “हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न नसक्नेहरू झुटको सहारा लिन्छन्, गोयबल्स शैलीमा आरोप लगाउँछन्,” उनले भने, “तर हामीले यस्ता चुनौती पहिल्यैजस्तै अझ सशक्त रूपमा सामना गर्नेछौं।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा संलग्नताको विषयमा अध्यक्ष ओली र भण्डारीबीच भएको संवाद पनि बैठकमा छलफलको एजेन्डामा समावेश हुने अपेक्षा गरिएको गौतमले बताए।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com