काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली समाजको विविध संस्कृति र परम्परालाई “खुला संग्रहालय” को संज्ञा दिँदै, ती संस्कृतिहरू जीवन्त रूपमा जीवित रहेको बताएका छन्।

स्व. अरुण थापाको २६औं स्मृति दिवसको अवसरमा आयोजित स्रष्टा सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अरुण थापाले नेपाली संगीतमा पुर्‍याएको योगदानले समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको उल्लेख गरे।

advertisement

“संस्कृति कुनै निर्जीव वस्तु होइन, यो हाम्रो जीवनको आधार र समाजको प्राण तत्व हो,” मन्त्री पाण्डेले भने, “हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन्। तर यही विविधता नै हाम्रो सामूहिक शक्ति हो।”

नेपालमा हाल १३१ वटा भाषा बोलिने उल्लेख गर्दै मन्त्री पाण्डेले अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ वटा निवेदन प्राप्त भइसकेको जानकारी दिए। उनले “अतिथि देवो भवः” संस्कारमा आधारित नेपाली समाजले अभौतिक सम्पदाको संरक्षणमार्फत वैश्विक पहिचान बनाउँदै लगेको धारणा राखे।

उनले देउडा, कौणा, र विभिन्न जातीय नृत्यजस्ता परम्परागत सांस्कृतिक विधाहरूलाई अब मुख्यधारमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै, संस्कृति सम्बन्धी नीतिको मसौदा अन्तिम चरणमा रहेको र नीति पारित भएपछि अभौतिक सम्पदालाई कानुनी र औपचारिक मान्यता दिइने बताए।

कार्यक्रममा मगर समुदायको सांस्कृतिक संरक्षणमा विशेष योगदान पुर्‍याएका प्रेमबहादुर थापालाई विशेष सम्मान गरिएको थियो। मन्त्री पाण्डेले अरुण थापाको स्मृतिमा भइरहेको यस्ता रचनात्मक कार्यक्रमहरूले नेपाली समाजमा सांस्कृतिक सम्वेदनशीलता अझै बढाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com