काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुनबाट कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत प्राप्त गर्ने दाबी गरेका हुन्।
“यदि हामी एकढिक्का भएर अघि बढ्यौं भने २०८४ सालको चुनावमा एमालेलाई कसैले छेक्न सक्दैन, रोक्न सक्दैन,” बैठकमा सहभागी एक केन्द्रीय सदस्यले ओलीको भनाइ उद्धृत गर्दै बताए, “एमाले बिना नेपाल बनाउँछौं भन्नेहरु अहिले पनि हामीलाई हेरेर बसिरहेका छन्। तर यथार्थ के हो भने, एमाले अहिले पनि सरकारको नेतृत्व गरिरहेको छ, त्यो पनि १३ महिनादेखि।”
प्रधानमन्त्री ओलीले बैठकमा पार्टीको सांगठनिक मजबूती, कार्यकर्ताबीचको ऐक्यबद्धता र आगामी रणनीतिक लक्ष्यबारे धारणा राख्दै पार्टीलाई आगामी निर्वाचनसम्म एकताबद्ध रुपमा अघि बढाउन आग्रह गरेका थिए।
उनको भनाइले पार्टीभित्र उत्पन्न आशंका, गुटगत सोच र विभाजनको चर्चा हराउँदै एमाले आगामी दिनमा अझ सुदृढ रूपमा प्रस्तुत हुने संकेत देखिएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार












प्रतिक्रिया