काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता झैं व्यवहार गर्ने नेताहरूमाथि कडा शब्दमा चेतावनी दिएका छन्। सोमबारदेखि ललितपुरको च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले केही नेताहरू मिडियामा अनावश्यक बयान दिँदै हिँडेकोप्रति असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन्।
बैठकमा बोल्दै ओलीले पार्टीको अनुशासन उल्लंघन गर्दै सार्वजनिकरूपमा पूर्वराष्ट्रपतिको तर्फबाट टिप्पणी गर्नु गलत कार्य भएको बताएका थिए। “उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर प्रचार गर्नु, भण्डारीले बालुवाटार जान मानेनन् भनेर झूटो प्रचार गर्नु उचित होइन,” उनले भनेका छन्, “उहाँको प्रवक्ता बनेर मिडियामा बोल्नु जरुरी छैन।”
अध्यक्ष ओलीले पार्टीभित्र बढ्दो अनुशासनहीनता र भित्री खिचातानीप्रति पनि चिन्ता व्यक्त गर्दै हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिन आग्रह गरे। उनले भने, “अब यस्ता गतिविधि दोहोरिए भने निसन्देह कारबाही हुन्छ। अहिले एमाले र हाम्रो नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेको छ, त्यसैले हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता छ।”
बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र अनुशासन कायम राख्ने, आन्तरिक विवाद सार्वजनिकरूपमा नल्याउने र संगठनात्मक एकता मजबुत बनाउनेतर्फ गम्भीर ध्यान दिन नेताहरूलाई आग्रह गरेका छन्।
ओलीको यो चेतावनी पछिल्लो समय पार्टीभित्रका केही नेताहरूले सार्वजनिक रूपमा दिएका विवादास्पद अभिव्यक्तिलाई लक्षित गरेर आएको हो। बैठकमा नेतृत्वको तर्फबाट अनुशासनको विषयलाई प्राथमिकतामा राखेर कडा सन्देश दिइएको स्रोतको भनाइ छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार












प्रतिक्रिया