काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती सेवामा हुने सरुवा, पदस्थापन तथा काज सरुवालाई निष्पक्ष, पारदर्शी र वस्तुगत बनाउने उद्देश्यसहित मापदण्डहरूलाई समयानुकूल परिमार्जन गर्न निर्देशन दिएकी छिन्।
मन्त्रालयका सचिव तथा सहसचिवहरूसँगको छलफलमा मन्त्री न्यौपानेले सरुवा सम्बन्धी विद्यमान मापदण्डहरू अबको समयअनुसार परिमार्जन आवश्यक भएको उल्लेख गर्दै, छिटोभन्दा छिटो सुझाव तयार पार्न निर्देशन दिएकी हुन्।
उनले भनिन्, “सरुवाको प्रक्रिया अब परिमार्जित मापदण्डअनुसार मात्र हुनेछ। त्यसैले यथासक्य छिटो म मापदण्डको प्रारूप र सुझावहरू पाउन चाहन्छु।”
मन्त्री न्यौपानेले विगतमा तयार गरिएका मापदण्डहरू कार्यान्वयनमा लापरवाही भएको उल्लेख गर्दै, अब ती मापदण्ड कडाइका साथ लागू गरिने स्पष्ट पारिन्। साथै, उनले सरुवा प्रक्रिया पूर्वअनुमानयोग्य बनाउनुपर्नेमा पनि जोड दिइन्।
त्यसैगरी, निजामती कर्मचारीहरूको सरुवा र प्रशासनिक प्रक्रियामा देखिएका गुनासाहरूको व्यवस्थापन गर्न मन्त्रालयमा छुट्टै गुनासो सुनुवाइ संयन्त्र निर्माण गरिने जानकारी समेत मन्त्री न्यौपानेले दिइन्।
उनको भनाइमा, “निजामती कर्मचारीहरूले भोगेका समस्या र गुनासोहरूको प्रभावकारी समाधानका लागि सुनुवाइ संयन्त्र आवश्यक छ, जुन छिट्टै स्थापना हुनेछ।”
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया