काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचारलाई नबुझेको कारण नेपालमा राजसंस्थाको पतन भएको टिप्पणी गरेका छन्।
मंगलवार वसन्तपुरस्थित बीपी स्मृति अस्पतालमा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार: विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उक्त कार्यक्रम ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजना गरिएको थियो।
महामन्त्री शर्माले बीपी कोइरालाको “राजा र मेरो गर्धन जोडिएको छ” भन्ने अभिव्यक्तिलाई राजसंस्थाले गलत ढंगले व्याख्या गरेको उल्लेख गर्दै भने, “यदि राजसंस्थाले बीपीलाई बुझेको भए, आज राजतन्त्र नागार्जुनको जंगलमा थन्किनुपर्ने थिएन।”
उनले थपे, “बीपीलाई नबुझ्ने गल्ती कांग्रेसले मात्र हैन, कम्युनिस्टहरू र राजसंस्थाले पनि गरे। बीपीको विचार देश विकासको मेरुदण्ड हो, तर त्यो विचारलाई गम्भीरतापूर्वक ग्रहण गर्ने साहस र समझ नेपालमा देखिएन।”
शर्माले नेपाली कांग्रेसभित्रै पनि बीपीप्रति समर्पण भाव देखिए पनि उनको विचारलाई व्यवहारमा उतार्न नसकिएको स्वीकार गरे। “बीपीप्रति श्रद्धा छ, स्मरण पनि हुन्छ, तर व्यवहारमा लागू गर्न भने हामी चुकेका छौँ,” उनले भने।
उनका अनुसार बीपी कोइरालाको विचार, दर्शन र लोकतान्त्रिक आदर्शहरू आजको नेपालको विकास, सामाजिक समरसता र स्थायित्वका लागि अझै पनि उत्तिकै सान्दर्भिक छन्।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया