काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा कोशी प्रदेशका १९ जना र बागमती प्रदेशका केही नेताहरूले मंगलबार आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनीहरूले पार्टी नेतृत्व, अनुशासन, संगठन सुदृढीकरण र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे चलिरहेको बहसमा आ–आफ्नो विचार प्रस्तुत गरे।
कोशी प्रदेशबाट युवराज बास्कोटाले केन्द्रीय नेताहरू भूगोलको जिम्मेवारी लिएर पनि काठमाडौँमै सीमित हुने प्रवृत्तिले स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताए। उनले जनप्रतिनिधिमा ‘निजामती हाकिम’जस्तो प्रवृत्ति देखिएको भन्दै आचरण सुधारमा पार्टीले नीति ल्याउनुपर्ने माग गरे।
भण्डारीप्रति भइरहेको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै बास्कोटाले भने, “पार्टी सदस्यता नवीकरणलाई लिएर कोकोहोलो मच्चाउनु राजनीतिक मर्यादाविपरीत हो।” दीपक कार्की, रामलाल साह, नैनकला ओझा, रेनुका काफ्ले र मञ्जु भण्डारी लगायतले पनि भण्डारीप्रति भइरहेका आरोपअनुचित भएको तर्क राखे।
तर, केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किनु उचित नहुने धारणा राख्दै भण्डारीको भूमिकामाथि प्रश्न उठाए। उनले “सम्माननीय पदमा रहेकाले त्यही गरिमा अनुसार बस्नुपर्छ” भन्ने सुझाव दिए।
बागमती प्रदेशका पार्वती रावल, नविना लामा, कैलाश ढुंगेललगायतले पनि भण्डारीमाथिको आक्रमण जायज नभएको बताएका थिए।
एमाले केन्द्रीय कमिटी बैठकमा हाल पार्टी विधान संशोधनबारे सचिवालय र पोलिटब्युरोको प्रस्तावमा छलफल भइरहेको छ। केन्द्रीय सदस्यहरूको सुझावका आधारमा विधान संशोधन गरी अन्य कमिटीमा समेत प्रस्ताव पठाइने तयारी छ।
यसअघि सोमबार मधेस, गण्डकी र सम्पर्क समन्वय क्षेत्रका सदस्यहरूले पनि आफ्ना धारणा राखिसकेका छन्।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया