काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर संसदमा जारी अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले आन्दोलनरत दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग विशेष छलफल गरेका छन्।
मंगलबार संसद सचिवालयमा बसेको उक्त छलफलमा सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई समेत उपस्थित गराएर समस्या समाधानका लागि सहकार्य गर्न आग्रह गरेका थिए। सभामुख घिमिरेले रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग सरकारसँग संवादको बाटो खोल्न अनुरोध गर्दै भने, “सरकार र तपाईंहरूबीच संवाद नहुनुका कारण संसदमा अवरोध आइरहेको छ, जुन परिस्थितिले मलाई पनि अप्ठ्यारो बनाएको छ।”
सभामुख घिमिरेले आगामी आर्थिक वर्षका लागि सरकारबाट १२१ विधेयक प्रस्तावित रहेको स्मरण गराउँदै संसद लगातार अवरुद्ध हुँदा त्यसको कार्यान्वयनमा गम्भीर प्रश्न खडा भएको बताए। उनले भने, “संसद चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दुवै पक्षलाई आह्वान गर्छु। तपाईँहरूको सैद्धान्तिक र राजनीतिक मुद्दामा केही नबोल्ने भए पनि संसद अवरुद्ध रहँदा मुलुकको नीति निर्माण प्रभावित भएको छ।”
छलफलमा रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुखको पहलको प्रशंसा गर्दै सरकारकै गैरजिम्मेवार रवैयाले समस्या थप जटिल बनेको बताए। उनले भने, “सभामुखज्यूले निरन्तर सहमतिको प्रयास गर्नुभएको छ, तर सरकार गम्भीरतापूर्वक प्रस्तुत भएको छैन। हाम्रो मुद्दा गम्भीर छ र त्यसअनुरूपको ध्यान सरकारबाट देखिएको छैन।”
राप्रपाका उपाध्यक्ष तामाङले भिजिट भिसा प्रकरणमा गठित छानबिन समितिको गतिविधिबारे संसदलाई जानकारी नै नदिएकोप्रति आश्चर्य व्यक्त गरे। “सरकारले समितिको कामबारे एक शब्द जानकारी दिएको छैन। हामीले संसदमा उठाएका विषय गम्भीर छन्, सहमति बिना प्रतिपक्षी फर्कन सक्दैनन्,” तामाङले भने।
कानून मन्त्री चौरसियाले सरकार कुनै पनि दलको माग बेवास्ता गर्ने पक्षमा नरहेको बताउँदै संवादका लागि प्रतिपक्षीहरूलाई लचिलो बन्न आग्रह गरे। “छानबिन समिति प्रमुख विपक्षी दलको सहमतिमा गठन गरिएको हो। अब सहमतिको बिन्दु खोज्न तपाईंहरू पनि लचिलो बन्नुहोस्,” मन्त्री चौरसियाले भने।
सभामुख घिमिरेले सबै पक्षहरूबीच संवाद र सहमतिको माध्यमबाट संसदको गतिरोध अन्त्य गर्न आवश्यक पहल जारी राख्ने प्रतिबद्धता पनि जनाए।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया