काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार नेकपा एमालेसँग भएका सहमतिबाट सरकार पछि हटे गठबन्धनमा दरार आउन सक्ने चेतावनी दिएका छन्।

सोमबार काठमाडौंमा आयोजित बीपी कोइरालाको ४३औँ स्मृति दिवस कार्यक्रममा बोल्दै शर्माले ‘कुलिङ पिरियड’ र भूमि विधेयक जस्ता संवेदनशील विषयमा देखिएको असमझदारीलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

advertisement

उनले राज्य व्यवस्था समितिबाट सर्वसम्मतिले पारित भएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानलाई राष्ट्रिय सभामा फरक ढंगले संशोधन गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै भने, “सँगै बस्दा सहमति गर्ने, तर संसदमा उल्टो संशोधन ल्याउने प्रवृत्तिले सहकार्यमा दरार आउन सक्छ।”

शर्माले भूमि विधेयकलाई पनि सरकारले हतारमा अघि बढाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे। “विधेयक पारित हुनुपर्छ, तर गम्भीर छलफल र समझदारीका आधारमा,” उनले भने।

उनले फरक पृष्ठभूमिबाट बनेको गठबन्धन भएकाले साझा धारणा बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै कांग्रेस बहस र विमतिलाई स्वीकार गर्ने, तर सशक्त सहकार्यको पक्षमा उभिने पार्टी भएको स्पष्ट पारे।

“सरकार सफल बनाउनुपर्छ, तर त्यसका लागि आलोचना र संवादको ठाउँ खुला हुनुपर्छ,” उनले भने। साथै, प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा आग्रह गर्दै उनले ‘कुलिङ पिरियड’ र भूमि विधेयकमा देखिएको असमझदारी तत्काल समाधान गर्न सुझाव दिए।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com