काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा आगामी उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ।
पार्टीले उम्मेदवार छनोटका लागि कार्यतालिका सार्वजनिक गर्दै साउन २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। प्राप्त निवेदनहरूको नामावली साउन २२ मा सार्वजनिक गरिनेछ भने साउन २३ र २४ गते दाबी–विरोधका लागि छुट्याइएको छ।
साउन २५ गते उम्मेदवारहरूसँग अन्तरक्रिया तथा छलफल गरिने र सोही दिन प्रारम्भिक उम्मेदवारहरूको सूची प्रकाशित गरिनेछ। त्यसपछि साउन २७ देखि भदौ ११ सम्म लिडरसीप एकेडेमी, राजनीतिक समझदारी (पोलिटिकल प्रोक्सिमिटी) र समावेशीताका आधारमा मूल्यांकन प्रक्रिया सञ्चालन गरिनेछ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र सहभागीपूर्ण बनाउन प्रारम्भिक निर्वाचन प्रणाली अपनाएको छ। यस अन्तर्गत भदौ १२ र १३ मा प्रारम्भिक मतदान गरिनेछ भने अन्तिम उम्मेदवारको घोषणा भदौ १५ मा गरिनेछ।
इच्छुक उम्मेदवारहरूले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्।
निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन हुने तय गरेको छ। राप्रपाका सांसद दीपक बोहराको निधनपछि यो क्षेत्र प्रतिनिधित्वविहीन बनेको हो।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया