काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभामा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले देश लुट्न टेण्डर पारेकोजस्तो व्यवहार गरेको बताए। मन्त्रीहरूकै संलग्नतामा भ्रष्टाचार भइरहे पनि छानबिन नगरेको भन्दै सरकारको आलोचना गरे।
“कुन मन्त्रीले छिटो र धेरै लुट्ने हो भन्ने प्रतिस्पर्धा चलेको छ,” लिङ्देनले भने, “एक-दुई होइन, दर्जनौं मन्त्रीमाथि गम्भीर आरोप छन्, तर छानबिन सुरु गरिएको छैन।”
उनले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक तहमै छानबिन आवश्यक रहेको भन्दै कर्मचारी कारबाही मात्र पर्याप्त नहुने बताए।
“अब भ्रष्टाचार कहाँ छ भन्ने होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,” उनले भने।
लिङ्देनले सरकार संसदको आवाजलाई बेवास्ता गर्दै अगाडि बढिरहेको भन्दै जनप्रतिनिधिहरूलाई भ्रष्टाचारको ढाकछोप गर्ने औजार बनाइएको टिप्पणी गरे।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया