काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी) का वरिष्ठ नेता सीपी गजुरेलले हालको व्यवस्था जनगणतन्त्र नभई बुर्जुवा गणतन्त्र भएको आरोप लगाएका छन्। ललितपुरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै गजुरेलले वर्तमान गणतन्त्रले जनताको पक्षमा काम गर्न नसकेको स्पष्ट पारे।
उनका अनुसार हालको गणतन्त्र पुँजीपति, दलाल, नोकरशाही र शासक वर्गको नियन्त्रणमा छ, जसले देशको समृद्धि सम्भव छैन। “हामीले यस्तो बुर्जुवा गणतन्त्र ल्याउनका लागि होइन, जनगणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थियौँ,” गजुरेलले भने।
गजुरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईमाथि आन्दोलनको विश्वासघात गरेको आरोप लगाए। “जनगणतन्त्रको यात्रालाई त्यागेर उनीहरू नेपाली कांग्रेसको एजेन्डामा हिँडिरहेका छन्,” उनले टिप्पणी गरे।
उनले भने, “आजको लोकतान्त्रिक गणतन्त्रलाई नै अन्तिम उपलब्धि मानेर अघि बढ्नुपर्छ भन्नेहरू गलत दिशामा छन्। यो बुर्जुवा गणतन्त्रले आम जनताको मुक्ति र समृद्धि दिन सक्दैन। यसले शोषणको स्वरूप मात्रै बदलेको छ, अन्त्य गरेको छैन।”
गजुरेलले जनगणतन्त्र स्थापनाका लागि नयाँ दिशामा संघर्ष अगाडि बढाउनुपर्नेमा पनि जोड दिए। उनका अनुसार, जनताको अधिकार सुनिश्चित गर्न र राष्ट्रको समुन्नत भविष्य निर्माण गर्न बुर्जुवा गणतन्त्रको साटो समाजवादतर्फ अग्रसर हुन आवश्यक छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया