काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर अनावश्यक चिन्ता नलिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले भिजिट भिसाको विषयमा अहिले धेरै बहस भए पनि नेपालमा यससम्बन्धी अभ्यास पहिले नै भइसकेको भन्दै रास्वपालाई शान्त रहन आग्रह गरे।
“भिजिट भिसामा विदेश जाने, उतैको नागरिकता र पासपोर्ट लिने, फेरि त्यही पासपोर्टमा नेपाल फर्किएर मन्त्री, उपप्रधानमन्त्रीसमेत भइसकेका उदाहरण यो देशमा प्रशस्त छन्,” उनले भने, “त्यसैले अहिले धेरै चिन्ता गर्नु पर्ने अवस्था छैन। आज तपाईंहरू जहाँ पुग्नुभएको छ, त्यसको जग नै भिजिट भिसा हो।”
उनले भिजिट भिसा प्रयोग गरेर नेपाल फर्किएर राजनीति गर्ने, दल गठन गर्ने र जिम्मेवार पदमा पुग्ने काम पहिलेका नेताहरूले गरिसकेको स्मरण गराउँदै यस्तो अभ्यास दोहोरिनु अस्वाभाविक नभएको बताए।
“हामीले पहिले नै यस्ता अभ्यासहरू गरिसकेका छौँ,” उनले भने, “कोही भिजिट भिसामा विदेश गएका, त्यहाँ नागरिकता लिएका, उतै घरजम गरेका, केही विवाद पनि गरेका, तर पछि नेपाल फर्किएर पार्टी खोलेका, मन्त्रीसमेत बनेका छन्। यस्तो इतिहास रहेको देशमा अहिले आएर भिजिट भिसा भनेर धेरै टेन्सिन लिनु आवश्यक छैन।”
तर, उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भिजिट भिसा लिई उतै स्थायी बसोबास गर्दै नागरिकता र पासपोर्ट लिने काम कानुनी रूपमा गलत भएको स्पष्ट पारे। “कुनै पनि मुलुकले यस्तो कार्यलाई समर्थन गर्दैन,” घिमिरेले भने, “अन्तर्राष्ट्रिय कानुनअनुसार यो स्वीकार्य छैन।”
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया