काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीको गम्भीर अभाव झेलिरहेको मधेस प्रदेशलाई राहत दिन सरकार तत्पर रहेको बताएका छन्। शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पहिलो चरणमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने घोषणा गरे।
सिँचाइ र खानेपानी दुबै समस्या समाधान गर्न तत्काल र दीर्घकालीन योजना अघि बढ्छ । प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको स्मरण गराउँदै पानीको अभावलाई तत्काल सम्बोधन गर्न ठोस कार्ययोजना अघि सारिएको बताए। उनका अनुसार, डिप बोरिङमार्फत भूमिगत पानी सतहमा ल्याई खानेपानी र सिँचाइ दुबै समस्या समाधान गरिनेछ।
सुक्खाग्रस्त मधेसका जनताको पीडा अब दीर्घकालीन योजनाले सम्बोधन हुन्छ ।
महोत्तरीमा अवतरणका क्रममा जहाजबाट देखिएको सुकेको जमिन उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मधेसका आठै जिल्लामा सिँचाइ सुविधा अत्यन्तै कमजोर रहेको स्वीकारे। अब यस क्षेत्रका जनतालाई आश्वासन होइन, समाधान दिने बेला आएको छ, । उनले स्पष्ट पार्दै भने, सरकार विशेष कार्यक्रममार्फत सिँचाइ, खानेपानी, र कृषि सुधारका उपाय अवलम्बन गर्दैछ।
प्रधानमन्त्री ओलीका अनुसार, साउन ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। यस निर्णयअनुसार, अब राज्यको प्राथमिकतामा मधेस रहनेछ र आवश्यक स्रोत साधन परिचालन गरिनेछ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया