काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान बहुलवादमा आधारित रहेको र आवश्यकता अनुसार संशोधन सम्भव हुने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक विचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले बदलिंदो समय र परिस्थितिअनुसार संविधान परिमार्जन गर्न सकिने स्पष्ट पारे।

advertisement

सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औं दिनको स्मृतिमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक आयोजित कार्यक्रममा बोल्दै देउवाले भने, “नेपालको संविधान बहुलवादमा आधारित छ। अहिले राष्ट्रियसभाको सभापति तथा उपसभापति पद थप्ने लगायतका विषयमा बहस चलिरहेको छ। आवश्यकता अनुसार संविधान संशोधन हुन्छ।”

देउवाले निर्वाचनको समय दलहरू फरक देखिए पनि व्यवहारिक तहमा प्रजातान्त्रिक मूल्यमा आधारित सबै शक्तिहरूबीच सहकार्य हुने धारणा राखे। उनले देशमा लोकतन्त्रको सुदृढीकरण र संविधान कार्यान्वयनमा सबै राजनीतिक शक्तिको साझा भूमिका रहेको उल्लेख गरे।

सभापति देउवाले स्वर्गीय ढुण्डीराज शास्त्रीलाई श्रद्धासुमन अर्पण गर्दै कांग्रेस पार्टी, लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा उनको योगदान अतुलनीय रहेको बताए। “शास्त्रीज्यूले कांग्रेसको जग बलियो बनाउन र लोकतन्त्र स्थापनामा जीवनभर लागिपर्नुभएको थियो,” देउवाले स्मरण गरे।

कार्यक्रममा कांग्रेस नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि, तथा नेता अर्जुननरसिंह केसीले पनि शास्त्रीप्रति श्रद्धा प्रकट गर्दै उनको योगदानको खुलेर प्रशंसा गरे।

उनीहरूका अनुसार शास्त्रीले आफ्नो जीवनभर लोकतन्त्रको पक्षमा दृढ अडान राखी कांग्रेस सुदृढीकरण, सामाजिक न्याय र परिवर्तनका निम्ति उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

 

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com