काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र अन्त्यसँगै नेपालमा विकासको गतिमा तीव्रता आएको बताएका छन्। शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वमा देशमा व्यापक पूर्वाधार निर्माणका कार्यहरू अघि बढेको दाबी गरे।

प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा सडक, पुल, सरकारी भवन लगायत विभिन्न क्षेत्रमा ठूला निर्माण परियोजनाहरू सम्पन्न भएको उल्लेख गर्दै सरकार विकासप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे।

advertisement

उनले चुरे क्षेत्रको अत्यधिक दोहनका कारण पर्सा र बाराजस्ता मधेसका जिल्लामा सुक्खाको समस्या गम्भीर बन्दै गएको बताए। “बारामा अन्य जिल्लाभन्दा केही बढी खेती हुन्छ, तर चारैतिर सुक्खा फैलिएको छ,” प्रधानमन्त्री ओलीले भने, “त्यसको समाधान दीर्घकालीन सोचसहित गर्नुपर्छ। चुरे क्षेत्रमै ठूलो मात्रामा ताल निर्माण गर्न आवश्यक छ।”

तत्कालीन समस्यालाई गम्भीरताका साथ सम्बोधन गर्न संघीय सरकार तत्पर रहेको उल्लेख गर्दै उनले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुको उद्देश्य नै सिचाइका लागि अतिरिक्त स्रोत र सहुलियत परिचालन गर्न सकिने व्यवस्था सुनिश्चित गर्नु भएको बताए।

तीन करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको परवानीपुर गाउँपालिकाको भवनको शिलान्यास २०७४ सालमा तत्कालीन राजपा (हालको लोसपा) बाट निर्वाचित अध्यक्षले गरेका थिए। अहिले सो भवन पूर्ण रूपमा सम्पन्न भई सेवा प्रवाहका लागि सञ्चालनमा ल्याइएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com