काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल र भारतबीच ‘सुपुर्दगी सन्धि’को तयारी भइरहेको जानकारी आफूले प्राप्त गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेता पुष्पलालको जन्मजयन्ती तथा एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले सो सम्भावित सन्धिले नेपालको राष्ट्रियताको सवालमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए।

advertisement

खनालले भने, “अहिले म सुनिरहेको छु— नेपाल र भारतबीच सुपुर्दगी सन्धि हुन गइरहेको छ। त्यो सन्धि भारत र चीनसँग सन्तुलन कायम नगरी गरियो भने नेपालको राष्ट्रियतामाथि अर्को ठूलो प्रहार हुनेछ।”

उनले यो विषय नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै सुनाउन खोजेको स्पष्ट पारे। सोही कार्यक्रममा केही समयअघिमात्र प्रचण्ड सम्बोधन गरेर हिँडेका थिए। “उहाँलाई प्रत्यक्ष भन्न पाइएन, तर म सञ्चारमाध्यममार्फत भए पनि यो कुरा उहाँसम्म पुग्न चाहन्छु,” खनालले भने।

खनालले भारतको प्रस्तावमा निर्माण हुन सक्ने भनिएको कोशी उच्च बाँधबारे पनि प्रश्न उठाउँदै त्यसले नेपालको राष्ट्रिय हितलाई हानि पुर्‍याउने सम्भावनाबारे गम्भीर बहस हुनुपर्ने बताए। “कोशी उच्च बाँधको विषय कसरी अगाडि बढ्दैछ भन्नेबारे नेपाली जनतालाई थाहा हुनैपर्छ,” उनले भने, “त्यो परियोजना नेपालको हितमा पर्छ वा पर्दैन भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ।”

उनले सरकार र राजनीतिक दलहरूलाई यस्ता संवेदनशील विषयमा सचेत र जिम्मेवार बन्न आग्रह गरे।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com