काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई राष्ट्रिय मुक्ति पार्टी नेपालले सहकार्यको प्रस्ताव राखेको छ। पार्टीका अनुसार, घिसिङले सुरू गर्न लागेको ‘उज्यालो नेपाल अभियान’सँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै उनलाई प्रत्यक्ष सहकार्य वा पार्टीमा आबद्ध हुन आग्रह गरिएको हो।
घिसिङ अहिले अमेरिका भ्रमणमा छन्। त्यहीबीच पार्टी अध्यक्ष राजेन्द्र महतोको निर्देशनमा दुई पटक पार्टी नेताहरूको टोलीले घिसिङसँग भेटघाट तथा संवाद गरेको थियो। पहिलो पटक असार ६ गते बुद्धि छिरिङ नेतृत्वको टोलीले र दोस्रोपटक असार ८ गते अर्को टोलीले भेटेर औपचारिक कुराकानी गरेको थियो।
पार्टीका नेता सन्तोष मेहताका अनुसार, “हामीले कुलमान घिसिङलाई पार्टीमा आबद्ध हुन प्रस्ताव गरेका छौँ। यदि उहाँ पार्टीमै आउन चाहनु भएन भने पनि हामी उहाँको ‘उज्यालो नेपाल अभियान’सँग सहकार्य गर्न तयार छौँ। हाम्रो राष्ट्रिय मुक्ति अभियानमा पनि उहाँको साथ–सहयोग अपेक्षित छ।”
तर, यसबारे हालसम्म कुनै अन्तिम निर्णय भइसकेको छैन। नेता मेहताले घिसिङको अमेरिका भ्रमणबाट फर्केपछि औपचारिक निर्णय लिइने जानकारी दिए। पार्टीले सहकार्यलाई सकारात्मक ढंगले अघि बढाउने तयारी गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया