काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई फसाउने प्रयास भए आगामी २०८४ को निर्वाचनमा पुराना दलहरूको जमानत जफत हुने चेतावनी दिएका छन्।
रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै सुरु गरेको हस्ताक्षर संकलन अभियानमा ऐक्यबद्धता जनाउँदै पार्टी कार्यालय पुगेका सांसद सिंहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “यो दिन नआओस् कि रविलाई भित्र राख्दा यिनीहरूको २०८४ मा जमानत जफत होस्।”
उनले देशका पुराना राजनीतिक दलहरू र तिनका शीर्ष नेतामाथि सत्ता नछाड्ने प्रवृत्ति र संस्थागत लुटको आरोप लगाए। “अमेरिका जस्तो देशमा ओबामा आठ वर्षपछि घर जान्छन्, तर यहाँ पाँच पटक प्रधानमन्त्री भइसकेका ८२ वर्षीय नेता छैटौं पटकका लागि या त पशुपति जान खोज्छन् या प्रधानमन्त्री कार्यालय,” भन्दै सिंहले व्यङ्ग्य गरे।
भुटानी शरणार्थी प्रकरणबारे बोल्दै उनले आफूले संसदमा मुद्दा उठाउँदा पनि कांग्रेस र एमालेको मिलेमतोमा छलफल टारिएको दाबी गरे। “भुटानी शरणार्थीको मुद्दा कांग्रेस–एमालेले संसदमा छलफल नगर्ने सहमति गरेर दबाए,” उनले आरोप लगाए।
सिंहले विगत ३० वर्षमा विश्वविद्यालय, अस्पताल, प्रशासन र प्रहरी जस्ता संस्थाहरूलाई दलहरूले नै कमजोर पारेको बताए। “प्रहरीलाई निष्पक्ष हुन नदिने, अस्पताल र विश्वविद्यालयलाई ध्वस्त पार्ने काम कसले गर्यो?” भन्दै उनले प्रश्न गरे।
उनले कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई बिनासुरक्षा जनतामाझ निस्कन चुनौती दिँदै, “यदि त्यो गर्न सके, म राजनीति नै समर्पण गर्छु,” भने।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार












प्रतिक्रिया