काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी छाड्ने कुरा कल्पनासमेत नगरेको प्रस्ट पारेका छन्। शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै खनालले कसैले राजीनामा माग्दैमा आफू चुपचाप राजीनामा दिएर नहिँड्ने स्पष्ट पारे।
“विद्रोह गरेर बनाइएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपमा रुपान्तरण गर्नुपर्नेछ,” खनालले भने, “पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने कुरा मेरो सोचमै छैन। कसैले राजीनामा दे भने भन्दैमा म सजिलै हिँड्दिन।”
अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै खनालले पार्टी नेतृत्वमा बस्ने नैतिक र वैचारिक धरातल नभएका व्यक्ति आफैं मार्ग लाग्नुपर्ने धारणा राखे। “पार्टी चलाउने क्षमता छैन, वर्गीय प्रतिबद्धता छैन भने बाटो लागे हुन्छ,” उनले भने, “तर झलनाथ खनाल त्यसरी हिँड्ने मान्छे होइन।”
एक टेलिभिजन अन्तर्वार्तामा खनालले नेकपा एमाले विभाजनको औचित्य अझै स्पष्ट नभएको अभिव्यक्तिपछि अध्यक्ष नेपालले खनालको राजीनामा मागेका थिए। जवाफमा खनालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने व्यक्ति स्वयं अध्यक्ष नेपाल भएको टिप्पणी गरेका थिए। यही अन्तरविरोधले पार्टीभित्रको मतभेद सतहमा ल्याएको हो।
खनालले आफूले बोलेका वा लेखेका विचारप्रति असहमति भए त्यसबारे पार्टीभित्रै बहस गर्नुपर्ने धारणा राखे। “यदि समस्या छ भने पार्टी बैठक डाकौं, छलफल गरौं। कम्युनिस्ट पार्टीको पद्धति बहस हो, निर्देशन होइन,” उनले जोड दिए।
नेता खनालले माधव नेपालको व्यवहारप्रति पनि असन्तोष व्यक्त गरे। “उहाँले जुनसुकै सरकारमा आत्मसमर्पण गर्न तयार देखिन्छन्। कांग्रेससँग मिलेर चुनावी साँठगाँठ गर्न पनि पछि हट्नुहुन्न,” उनले आरोप लगाए।
त्यसका साथै, आफूले पार्टीभित्र वैज्ञानिक समाजवादको अवधारणा अघि सारे पनि त्यसलाई पार्टीले कहिल्यै संस्थागत रुपमा सार्वजनिक नगरेको गुनासो पनि खनालले गरे।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया