काठमाडाैं । मधेस प्रदेशमा मन्त्रीपरिषद् हेरफेरको चर्चा तत्कालका लागि स्थगित भएको छ। प्रदेश सरकारको नेतृत्वमा फेरबदल हुने अड्कलसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने अपेक्षा गरिएको थियो, तर संघीय सत्ता गठबन्धनको स्पष्ट दिशानिर्देश नआएकाले हाललाई मन्त्री हेरफेर प्रक्रिया रोकिएको हो।

मुख्यमन्त्री सतिसप्रसाद सिंहले संघीय गठबन्धनबाट कुनै औपचारिक सन्देश नआएको स्पष्ट गर्दै अहिले मन्त्री फेरबदल नहुने जानकारी दिए। “संकेत आए लगत्तै हामी फेरबदल गर्छौं, तर अहिले सम्म केही ठोस सन्देश आएको छैन,” उनले भने।

advertisement

गत वर्ष जेठमा गठित मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन्। गठबन्धनका प्रमुख घटकहरूमध्ये जनमत पार्टीले आफ्नो एक वर्षे कार्यकाल पूरा भएपछि जेठमा आफ्ना दुई मन्त्री फिर्ता बोलाएर नयाँ प्रतिनिधि पठाइसकेको छ।

त्यसपछि मन्त्री हेरफेरका लागि तयारी चले पनि संघीय तहबाट कुनै निर्देश नआएकोले प्रक्रिया स्थगित भएको बताइएको छ। यसैबीच, सत्ता गठबन्धनभित्रको शक्ति सन्तुलन मिलाउन बाँकी भएकाले हेरफेर प्रक्रिया ढिलो भएको स्रोतले जनाएको छ।

यसअघि कांग्रेसभित्रै मुख्यमन्त्री परिवर्तनको पहल चले पनि त्यो प्रयास सफल नभएपछि हालको नेतृत्व कायमै रहेको छ। राजनीतिक अस्थिरता न्यून गर्न तथा कार्यसम्पादनमा निरन्तरता दिन अहिलेको अवस्था यथावत् राखिएको बुझिएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com