काठमाडौं  ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता फलदायी र अर्थपूर्ण रहेको बताएका छन्। आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सम्मेलनमा भएका महत्वपूर्ण छलफलबारे जानकारी दिएका हुन्।

सभामुख घिमिरेका अनुसार सम्मेलनमा डिजिटल प्रविधिको विकासले संसदहरूमा पार्न सक्ने प्रभावबारे गहिरो बहस भएको थियो। उनले आफूले सम्मेलनमा प्रविधिको प्रयोगमार्फत संसदलाई पारदर्शी, जनउत्तरदायी र प्रभावकारी बनाउने सम्भावनाका विषयमा धारणा राखेको जानकारी दिए।

advertisement

“अब संसद केवल कानुन निर्माणको थलो मात्र होइन, डिजिटल युगको नेतृत्व गर्ने संस्था बन्नुपर्छ,” सभामुख घिमिरेले भने, “संसद जनसंवादमुखी र प्रविधिमैत्री हुन जरुरी छ ।”

विश्व राजनीतिक परिदृश्यमा देखापरेका द्वन्द्व, असमानता र जलवायु परिवर्तनजस्ता चुनौतीहरू समाधान गर्न सबै प्रतिनिधिहरू एकमत भएको सभामुख घिमिरेले बताए। साथै, सम्मेलनको अवसरमा विभिन्न मुलुकका सभामुखहरूसँग नेपालसँग सम्भावित सहकार्यका विषयमा पनि छलफल भएको उनको भनाइ थियो।

सभामुख घिमिरेले सन् २०२६ को जनवरी ३० र ३१ मा काठमाडौंमा आयोजना हुने जलवायु सम्बन्धी सम्मेलनका सन्दर्भमा अन्तर व्यवस्थापिका सङ्घका पदाधिकारीहरूसँग परामर्श भएको जानकारी पनि दिए। उक्त सम्मेलन संयुक्त राष्ट्रसंघ र अन्तर व्यवस्थापिका सङ्घको सहआयोजनामा हुँदैछ।

जेनेभामा आयोजित सम्मेलनमा घिमिरेले “हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका के हुन सक्छ?” भन्ने शीर्षकको प्यानल डिस्कसनमा नेपालको प्रतिनिधित्व गर्दै धारणा प्रस्तुत गरेका थिए ।

उनका अनुसार, नेपालजस्ता मुलुकका लागि प्रविधिको समावेशी उपयोगमार्फत लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने मार्ग प्रशस्त गर्न सकिने सम्भावना रहेको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com