काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आइतबार तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा हुने उक्त सम्मेलनमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा सम्मेलनमा सहभागी हुन गएका हुन्।

advertisement

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरो (Global Coordination Bureau of LDCs) का अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, उनी सम्मेलन अन्तर्गत आयोजना हुने उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता पनि गर्नेछन्।

भ्रमणको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुखहरू, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री ओलीको टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय सांसद सूर्यबहादुर थापा क्षेत्री, परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायका उच्च अधिकारीहरू सहभागी छन्।

प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com